आजै देखी अनिश्चितकालका लागि प्रदेश १ को संसद पनि स्थगित
चैत्र ६- २०७६
बिराटनगर— प्रदेश १ को संसद अनिश्चितकालका लागि बिहीबारदेखि स्थगित गरिएको छ । नोबल कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाएपछि प्रदेश १ को संसद पनि स्थगित गरिएको हो ।
प्रदेशसभा बैठकमा बिहीबार सांसदहरुले हात उठाएर प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ पारित गर्दै ।
प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरिएको सदनमा जानकारी गराए।
बिहीबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सरकारले गरेको घोषणालाई मध्य नजर गर्दै प्रदेशसभा बैठक बसिरहन उपयुक्त नभएकाले स्थगित गर्ने सहमति अनुसार भण्डारीले संसद स्थगित गरेका हुन्।
वातावरण विधयेक संशोधनसहित पारितप्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ संशोधनसहित बिहीबार प्रदेशसभालेसर्वसम्मतिले पारित गरेको छ। उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे जबेगुले बुधबार सदनमा उक्त विधयेकको दफाबार छलफलपछि प्रतिवेदन पेस गरेकी थिइन्।
उक्त विधयेकमा ११ जना सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावलगायत विज्ञको उपस्थितिमा दफाबार छलफलपछि जबेगुले सदनमा प्रतिवेदन पेस गरेका थिइन्। सभामुख प्रदीपकुमार भण्डारीले सदनमा समितिले पेस गरेको विधयेक निर्णयार्थ प्रस्तुत गरेपछि सांसदहरुले सर्वसम्मतिले पारित गरेको थियो।