सगरमाथा निकुञ्जका हिमाली बस्तीमा बिजुली बाल्न पाङ्बोचेमा ‘मिनी हाइड्रो’
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र राष्ट्रिय प्रसारण लाइनले नछोएका हिमाली बस्तीमा बिजुली बाल्न सोलुखुम्बु पाङ्बोचेमा ‘मिनी हाइड्रोपावर’ बन्ने भएको छ ।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९ सय ११ किलोवाट क्षमताको जलविद्युत आयोजना कार्यान्वयन गर्ने गरी आमादब्लम मिनी हाइड्रो लिमिटेडले प्रक्रिया थालेको छ ।
सोही क्रममा कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ । समुद्र सतहबाट ४ हजार ४ सय २३ मिटर उचाइमा रहेको स्थानबाट पानी फर्काएर ४ हजार ४ सय २२ मिटर उचाइमा इन्टेक बनाउने योजना छ ।
त्यसपछि पानीलाई २ हजार ९ सय ३० मिटर लामो पेनस्टक पाइपलाइन मार्फत समुद्र सतहबाट ३ हजार ९ सय ५१ मिटर उचाइमा रहेको विद्युत्गृह ल्याई बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना कार्यान्वयन हुने क्षेत्र पाङ्बोचेको न्यूनतम तापक्रम वर्षको ७ महिना शून्य डिग्रीभन्दा तल झर्छ ।
नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान, विश्व बैंकको ऋण र प्रस्तावकको लगानीसहित कुल ६१ करोड ८९ लाख १ हजार ६ सय ३८ रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनले नछोएको सगरमाथा राष्ट्रिय निकुञ्जभित्रका ४ सय ५१ घरपरिवारमा बिजुली पुर्याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंक र वैकल्पिक ऊर्जा केन्द्रबाट ५९.२७ प्रतिशत ऋण, २० प्रतिशत अनुदान र २० प्रतिशत प्रस्तावकको लगानीमा आयोजना बन्ने गरी तयारी थालिएको हो ।
चोलुन्चे खोलाको पानी प्रयोग गरी अगाडि बढेको आयोजना नदी प्रवाहमा आधारित छ । चोलुन्चे खोला सदाबहार खोला हो । यो इम्जा खोलाको सहायक खोलासमेत हो । चालुन्चे खोला नरे हिमनदीबाट सुरु भएर उत्तरपूर्वबाट दक्षिण पश्चिम दिशामा बग्छ । त्यसपछि पाङ्बोचे गाउँमा आएर इम्जा खोलासँग मिल्छ । यो हिउँले भरिएको सदाबहार पानी बहने खोला हो ।
नेपालको भूउपयोग ढाँचाअनुसार यो आयोजनामा ५२.४० प्रतिशत हिमनदी, २०.८६ प्रतिशत बाँझो जमिन, २०.८६ प्रतिशत घाँसे मैदान, ८.०२ प्रतिशत झाडी, वनको २.८६ प्रतिशत, जलस्रोतको २.८३ प्रतिशत हिस्सा छ ।
पेनस्टक पाइप घाँसे मैदानमा राख्ने, विद्युतगृह समेत घाँसे मैदानमा राख्ने र प्रसारण र वितरण लाइन भने पर्यटक पदयात्रा मार्गमा राखिने आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक ७२ लाख २५ हजार ७ सय १८ किलोवाट बिजुली उत्पादन हुनेछ ।