शेर्पा किदुक कोलोराडो द्वारा २१५३ ग्याल्पो ल्होसार भब्यताको साथ सम्पन सर्वसम्मतिबाट ल्हाक्पा शेर्पाको अध्यक्षतामा नयॅा कार्यसमिति चयन ।
✍️हाम्रो आवाज न्यूज।अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने शेर्पाहरूको साझा संस्था United Sherpa Association of Colorado (शेर्पा किदुक कोलोराडो) द्वारा यही फेब्रुअरी २१, शनिबारका दिन २१५३ ग्याल्पो ल्होसार कार्यक्रम तथा संस्थाको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
विहान ११ बजेदेखि धार्मिक विधिअनुसार पूजा–आजा गरी सुरु भएको यस कार्यक्रमको पहिलो चरणमा संस्थाका निवर्तमान अध्यक्ष काजी शेर्पाले संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै, संस्थाका उपाध्यक्ष ल्हाक्पा शेर्पाले निकट भविष्यमा कोलोराडो राज्यको गोल्डेन शहरमा निर्माण गर्न लागिएको भावी शेर्पा सामुदायिक भवनको ढाँचा, अनुमानित लागत तथा आयस्रोतका विषयमा स्पष्ट जानकारी दिएका थिए।
कार्यक्रमको दोस्रो चरणमा वर्तमान कार्यसमितिहरुलाई संस्थाप्रति पुर्याएको योगदानको कदर गर्दै खादा लगाई बिदाइ गरिएको थियो। सोही भेलाबाट सर्वसम्मत रूपमा चयन गरिएको नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष काजी शेर्पाले खादा लगाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
यसै साधारण सभाबाट सबैको सर्वसम्मतिबाट ल्हाक्पा शेर्पाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ अध्यक्ष ल्हाक्पा शेर्पा, उपाध्यक्ष दा छिरी शेर्पा, प्रथम कोषाध्यक्ष ल्हाक्पा याङजी शेर्पा, द्वितीय कोषाध्यक्ष आङ ल्हाक्पा शेर्पा, महासचिव कामी तेन्जी शेर्पा, सदस्यहरुमा पा नुरु शेर्पा, पेम्बा गेल्जेन शेर्पा, आङ फुरा शेर्पा, पेम्बा शेर्पा, मिङमा तेम्बा शेर्पा, मिङमा तेम्बा शेर्पा, दावा शेर्पा, मेन्दो लामा, निमा ल्हमु शेर्पा, आङ निमा शेर्पा चयन गरिएको थियो।
कार्यक्रमको तेस्रो चरणमा स्थानीय कलाकारहरूद्वारा नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो।सो कार्यक्रममा नेपालको प्रख्यात गायक निमा रुम्बाको विशेष प्रस्तुति रहँदा वृद्धदेखि युवासम्म सबै सांगितिक माहोलमा झुमेका थिए।