शहीद भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना पक्राउ
कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ ।
आज शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।
राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले शालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
‘तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ’, प्रवक्ता डाँगीले भन्नुभयो, ‘उनीहरूको नामावली सङ्कलनलगायत काम पनि भइरहेको छ ।’
प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।