
कविता -
“समयको होली “
ईन्द्रेणीको भण्डारबाटट उभाएर
हत्केलाभरि सातै रङ
समयको मुहारभरि दलीदिन मन छ, फागु
र हेर्न मन छ उसको रङ्गीन मुस्कान ।
मलाई हेर्न मन छ,
रङ पोतेपछिको उसको कोमल लज्जा
पानी छ्यापेपछिको उसको शानदार हाँसो
पिचकारी हानेपछिको उसको रिसजस्तो नखरा
लोला हानेपछिको उसको प्रेमिल मुक्का
र मुक्का खाएपछि सन्तोषले ढक्क फुलेको
आफ्नै छातीको चौडाईपनि हेर्न मन छ ।
यो मनमा त लाग्छ नि,
सधैँ खुसीका रङहरूले रङ्ग्याउँ उसलाई
निर्धक्क प्रेमले अङ्गालु
रुझाउँ निथ्रुक्क चुम्बनै चुम्बनको वर्षाले
र भनूँ, तिम्रो लागि हरेक दिन सन्तोषको होली ल्याउन सकूँ ।
तर
म त यतिबेला घाम समेत देख्न नपाउने
जिन्दगीको अँध्यारो कुईनेटामा छु
जीवनको घरभन्दा निक्कै पर, दुर बस्तीमा छु
जहाँ
फूलहरू फुल्न डराउँछन्
रङहरूले आफ्नै रङ बिर्सन्छन्
चराहरूले गाउँन र पुतलीहरूले उड्न बिर्सन्छन् ।
यस्तोमा पनि बडो जतनले राखेको
एउटा रातो रङ छ मुटुको
त्यही पठाएको छु, तिम्रो रङ्गीन ठेगानामा
प्रिय समय
खेल्नु है रमाईलोसँग जीवनको होली ।
- जीवन खत्री
दक्षिण कोरिया ।