संविधान दिवसमा आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ ।

आज मङ्गलवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकारले आममाफी नभई कैद कट्टा मात्रै गरेको बताउनुभएको हो । उहाँले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ भनेर आफूहरूले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आममाफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ ? अहिलेको केसमा आममाफी दिइएको छैन । यो त कैद कट्टा गरिएको हो । हामीले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि कानुनअनुसार सजाय भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । कैद कट्टा हो ।’

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आममाफी दिने कुरा गलत भएको बताउनुभयो । उहाँले पहिला यी कुरामा नदिने गरिए पनि अहिले विकृति आएको बताउनुभयो ।