सोलुदुधकुण्डमा एकीकृत सिकाई सहजीकरण तालिम शुरु
सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा रीड नेपालले सोलुदुधकुण्डमा आधारभूत तह (कक्षा १ देखि ३) को पाठ्यक्रममा आधारित ५ दिने एकीकृत सिकाई सहजिकरण तालिम सुरु गरेको छ ।
परिवर्तित पाठ्यक्रम अनुसार शिक्षणको लागि भइरहेको समस्या समाधानका लागि तालिमको आयोजना गरिएको रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले बताए । तालिमको उद्घाटन नगरपालिकाका उपमेयर कल्पना राईले गरिन् । उपमेयर राईले परिर्वतित पाठ्यक्रम अनुसार पठनपाठन सिपको विकास गर्न आवश्यक रहेकाले तालिम सार्थक बन्ने बताईन् ।
जनजागृति आधारभुत विद्यालयमा शुरु तालिममा नगरपालिका भित्र ६३ जना शिक्षक सहभागि छन् । तालिमका उपलब्धि कक्षा कोठामा लागु गर्न रीड नेपालका शिक्षा विकास संयोजक गिरीले आग्रह गरे । तालिममा नेपाली, अंग्रेजी, गणित र हाम्रो सेरोफेरो विषयको एकीकृत सिकाई सहजीकरणबारे सिकाइनेछ ।
तालिम उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका शिक्षा सुपरिवेक्षक गोपालराज भुजेल, तालिम सहजकर्ता लगायतको उपस्थिती रहेको थियो । रीड नेपालले यसअघि सोताङ, महाकुलुङ, माप्यदुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकामा सोही प्रकृतिका तालिम सञ्चालन गरिसकेको छ ।