सोलुका स्थानीय तह वजेट निर्माणमा

सोलुखुम्बु – सोलुखुम्बुका स्थानीय तह आगामी आर्थिक बर्ष २०७८–७९ को बजेट निर्माणमा जुटेका छन् । असार १० गते बजेट ल्याउनुपर्ने संविधानको व्यवस्था अनुसार स्थानीय तहहरु बजेट निर्माणमा जुटेका हुन् । यद्यपी कोरोना कहरका कारण जिल्लामा निषेधाज्ञा जारी रहेकाले समूहमा भेला भएर योजनाबारे छलफल गर्ने वातावरण छैन् ।

सोलुदुधकुण्ड नगरपालिकाले वडामा बजेटको सिलिङ पठाउने भएको छ । तत्काल योजना संकलन र बजेट बारे छलफल गर्ने वातावरण नभएकाले निषेधाज्ञा हटेपछि योजना तर्जुमाको काम गर्ने मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी असार १० गते बजेट सार्वजनिक गर्ने गरि शुक्रबार बजेट क्यालेन्डर समेत सार्बजनिक गरेको छ । असार २ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्ने छ भने ३, ४ र ५ गते वस्ती टोल स्तरबाट योजना छनौट गरिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

६ र ७ गते वडास्तरीय योजना प्राथमीकिकरण, ८ र ९ गते एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिने र असार १० गते बस्ने गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने तालिका तयार पारिएको छ ।

लिखुपिके गाउँपालिकाले ५ वटै वडामा ४०÷४० लाखको सिलिङ पठाईसकेको छ । वजेट निर्माणका लागि विषयगत कार्यालयहरु छलफलमा जुटेका छन् भने वडा वडामा आवश्यक साबधानी अपनाएर योजना संकलनको काम भईरहेको पालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए ।

सोताङ गाउँपालिकाले पनि वडा–वडाबाट योजना संकलनको तयारी गरिरहेको अध्यक्ष वीर बहादुर राईले बताए । जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका, महाकुलुङ गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका पनि आगामी आर्थिक वर्षको वजेट निर्माणमा जुटेका छन् ।

सोलुखुम्बुका स्थानीय तहहरुले संघीय सरकारबाट २ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त गरेका छन् ।