
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरण अनुसार जिल्लामा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बृद्धि भएको हो ।
गत सन् २०२० मा ३० ओटा घटना अभिलेखिकरण गरेको इन्सेकले सन् २०२१ को ६ महिनाको अवधिमा २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । विहिबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सबै भन्दा बढी बलत्कार र बलत्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष ९ ओटा घटना भएकोमा यो वर्ष ६ महिनाको अवधिमा १० ओटा बलत्कार र बलत्कार प्रयासका घटना घटेको इन्सेक इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताउँनुभयो ।
यस्तै इन्सेकको तथ्याङ्क अनुसार गत एक वर्षमा ५ ओटा घरेलु हिंसाका घटना घटेको थियो भने चालु वर्षको ६ महिनामा ६ वटा घटना घटेका छन् । यस्तै कुटपिट तथा धम्कीका घटना समेत बढेको छ । गत वर्ष ५ ओटा घटना अभिलेखिकरण गरेको इन्सकेकले यो वर्षको ६ महिना अवधिमा ६ वटा अभिलेखिकरण गरेको छ ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवाला बीच गरिएको अन्तरक्रिया कार्यक्रममा बाल यौन दुव्र्यवहारका तीन, आत्माहत्या दुरुत्साहनका एक, हत्या एक र भौतिक संरचनामा क्षती एक ओटा भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
यो ६ महिनाको अवधिमा इन्सेकको पहलमा एक बालकको उद्धार गरिएको बताइएको छ ।
यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत सोलुखुम्बु प्रहरीले उद्धार गरेको इन्सेक सोलुखुम्बुले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीकाअनुसार सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कवित कटवालको विशेष पहलमा ती बालिकालाई उद्धार गरि एसओएस बालग्राम इटहरी पठाइएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले इन्सेकले मावन अधिकारको क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका छन् । मावन अधिकार उल्लङ्घनाका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको अधिकारकर्मीले बताएका छन् ।