सरकारले कैयाैँ विषयमा गल्ती गरिरहेकाे छ : महामन्त्री शर्मा
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले कैयाैँ विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ । जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराउनुभयो ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले भन्नुभयाे, ‘सरकारले अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आममाफीको प्रक्रियाबाट छोड्दैछ । त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्न सरकार कति गम्भीर बन्छ, त्यसलाई कति गम्भीर रूपमा लिन्छ भन्ने कुराले अर्थ राख्छ । म अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । सरकारले गल्ती नगरोस् ।’
महामन्त्री शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी याे विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारले संसदमा पेस गरेको याे विधेयकलाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।