सर्लाहीका चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । तीनवटा चिनी मिलमध्ये दुई वटाले उखुको क्रसिङ शुरु गरेका हुन् ।
हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले यो सिजनको उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले अझै उखु क्रसिङ शुरु गरेको छैन । गएको मङ्सिर २६ गतेदेखि नै उखु क्रसिङको तयारी भए पनि उखु उत्पादक किसानले आन्दोलन गरेपछि केही समय क्रसिङ रोकेको इन्दुशङ्कर उद्योगका योगनारायण रजकले बताउनुभयो ।
यस्तै, महालक्ष्मी चिनी उद्योग बगदहले पनि उखु क्रसिङ थालेको छ । सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ निर्धारण गरेको छ । यसमा ५ सय ६५ रुपैयाँ न्यूनतम खरिद मूल्य र ७० रुपैयाँ सरकारको अनुदान रकम हो । गएको वर्ष अनुदानबाहेक ५ सय ४० रुपैयाँ न्यूनतम खरिद कायम भएको थियो ।
सरकारले खरिद मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाएको भए पनि उखु उत्पादक किसान अझै सन्तुष्ट हुन सकेका छैनन् । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले किसानको असन्तुष्टि कायमै रहेको बताउनुभएको छ । उहाँले सरकार र उखु उद्योगीको मारमा किसान परेका बताउनुभयो ।
बढ्दो लागत, मल तथा नयाँ जातको अभाव, भुक्तानीमा ढिलासुस्तीलगायतका कारण किसानले खेती परिवर्तन गर्न थालेपछि उखुको उत्पादन घट्न थालेको छ । २०७४/७५ मा वार्षिक दुई करोड क्विन्टलभन्दा धेरै उखु उत्पादन हुने गरेकामा अहिले घटेर वार्षिक झण्डै डेढ करोड क्विन्टलमा झरेको छ ।