सर्लाहीमा दुर्लभ जनावर सालक फेला पर्‍याे

सर्लाहीमा दुर्लभ जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक बिहीवार राति मूर्तियाको जङ्गलमा  फेला परेको हो । सुरक्षित उद्धार गरेको सालकलाई पर्सा वन्यजन्तु आरक्षण केन्द्रमा पठाउने सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो।

गस्तीमा हिँडेको वनको टोलीले सर्लाहीको मधुवनी नयाँरोड सडक खण्डको धरहर जङ्गल नजिक सडकमा हिँड्दै गरेको अवस्थामा सालक भेटिएको सशस्त्र वन रक्षक मदनबहादुर थिङले जानकारी दिनुभयो । सालकको लम्बाइ ७२ सेन्टिमिटर र तौल ३ दशमलव ५ किलोग्राम रहेको छ।

सर्लाहीको जङ्गलमा अहिलेसम्म दुर्लभ  सालक नभेटिएको उहाँको भनाइ छ। सालक दिनभरि सुत्ने र राति खाना तथा पानीको लागि दुलोबाट बाहिर निस्किएर हिँड्ने गर्छ । सालकको अवैधरुपमा चोरी शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिबाना हुने वन ऐनमा व्यवस्था छ।