सत्ताको होल बडी चेक अप *********

कवि- बलराम तिमल्सिना

देशमा सबैभन्दा बिरामी

जब सत्ता नै हुन्छ

र मुन्टो बटारेर बस्छ जनतासँग

त्यसपछि जरुरी हुने रहेछ

सत्ताको होल बडी चेक अप गर्न !

सत्ताको,सिँगान, खकार, दिसा पिसाव

बिर्य रगत र विभिन्न स्थानका मांसकणहरू

संकलन गरियो र ल्यावमा पठाइयो !

मुटु , कलेजो, फोक्सो, पित्तथैली

आमासय, दुवै आन्द्रा

मलद्वार ,मुत्रद्वार ,

खानाद्वार, घ्राणद्वार -प्राणद्वार

श्रवणद्वार दृश्यद्वार

सबै सबैको जाँच गरियो !

सत्ताको दिसामामा

मान्छेको हड्डीका टुक्राहरू भेटिए

पिसावमा भेटियो

आँसु र रगतको  लवण !

आमासयमा भेटिए

लाउडादेखि वाइडबडीसम्मका

लुकाइएका फाइलहरू

ठूलो आन्द्रामा अड्किएको भेटियो

बुढी गण्डकी परियोजना

सानो आन्द्रामा भेटियो

भर्खरै पाठ्य पुस्तकबाट

वाँड्न प्रतिवन्ध लगाइएको

देशको चुच्चे नक्शा !

मिर्गौला जाँच गर्दा

होली वाइनको असर भेटियो

फोक्सोमा दिल्लीको अमिलो हावा

र पित्त थैलीमा भेटियो

एमसिसी कमिशनको ब्रिफकेश !

सत्ताको सातपत्रेमा भेटिए

असंख्य गोप्य संझौताहरू

र विदेशीको तलव खाने

'राष्ट्र सेवक' तथा 'जनसेवक' हरूको नामावली

सत्ताको दिमागमा भेटियो

देशको लागि खतरा मानेर

इन्काउन्टर गर्न तयार मानिसको सूची

र तिनीहरूका ख्याउटे तस्विरहरू !

सत्ताको राष्ट्रवाद एकिन गर्न

डिएनए पनि जाँच गरियो

देशसँग म्याच गरेन डिएनएले

बरु म्याच गर्यो-

चालिस प्रतिशत दिल्ली

तीस प्रतिशत न्यूयोर्क

बीस प्रतिशत बेइजिङ

र दश प्रतिशत इयूसँग !

सत्ताले लगाउने चश्मा

घडी जुत्ता , टेक्ने लौरो

दौरा सुरुवाल र टोपी

सबैबाट डलरको गन्ध आयो !

जाँच दलले परिक्षण सकेको छ

फाइनल रिपोर्ट तयार गर्दै छ

तर ल्यावको बाहिर सत्ताले गस्ती सुरु गरेको छ

ढोकामा केही बन्दूकधारी उभिएका छन्

उनीहरूको हातमा दुइटा पूर्जी छन्

एउटा पूर्जी-

रिपोर्टलाई ढिसमिस पार्ने आदेश

र दोश्रो पूर्जी-आतङ्ककारी घोषणा गर्ने चेतावनी !

जाँच दल चर्को दवामा छ

बिहानसम्ममा नतिजा आउने छ

नतिजा तपाईले अनुमान गरिसक्नु भयो

कि रिपोर्ट सार्वजनिक हुने छ

र जाँच दल आतङ्ककारी मानिने छन्

कि रिपोर्ट ढिसमिस हुने छ

र जाँच दलले गद्दारी गर्ने छन् !

२०७७|०७|०३  भक्तपुर