सोलुखुम्बु : प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो ‘मौसम’ सोलुखुम्बु आउनुहुने भएको छ । स्टार यूथ क्लब, सोलुखुम्बुको आयोजनामा मंसिर ५ गते देखि सञ्चालन हुने ४ दिने भलिबल प्रतियोगीता तथा सांगीतिक साँझको उद्घाटनका लागि मन्त्री आङबो सोलुखुम्बु आउनुहुने भएको हो ।

सामाजिक उदेश्य सहित सोलुखुम्बु जिल्लामा दर्ता भएको क्लबले आफ्नो स्थापना दिवसको अवसरमा महिलातर्फ प्रदेश १ नं. प्रदेश स्तरीय र पुरुषतर्फ सोलुखुम्बु जिल्लाका अन्तर स्थानीय तह स्तरीय खेल हुने सञ्चालन गर्ने क्लबका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति, सोलुखुम्बुको प्राङ्गण सल्लेरीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको पुरस्कार राशीमा महिला र पुरुषबीच विभेद गर्ने गरिएकाले उनीहरु समान हुन् भन्ने सन्देश दिनका लागि बराबरी राशी प्रदान गरिने अध्यक्ष शेर्पाको भनाई छ । प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने महिला तथा पुरुष दुवैतर्फका समुहलाई समान राशी क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाण–पत्र र मेडल प्रदान गरिने क्लबका कोषाध्यक्ष सुजता तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बौद्ध धर्मावलम्बीहरुको स्यांगी, किरात समुदायको साकेला, तामाङ समुदायको सेलो, मगर समुदायको कौडालगायतका सांस्कृतिक नृत्यसहित स्थानीय कलाकारहरुको साथमा जिल्लाकै पहिलो ब्याण्ड आगमनको बिशेष प्रस्तुति रहने क्लबका प्रचार–प्रसार संयोजक गणेश कुमार राई ‘वसन्त’ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमकाे ९५ प्रतिशत तयारी पुरा भएको क्लबका महासचिव सुन्दर तामाङ ‘विजय’ले जानकारी दिनुभयो । साथै मंसिर १ गते क्लबको पूर्ण बैठक बसी सम्पूर्ण कार्यविभाजन गरेको समेत तामाङले जानकारी दिनुभयो । स्टार यूथ क्लबले आयोजना गर्न लागेको कार्यक्रम हालसम्म सोलुखुम्बुमा आयोजित कार्यक्रम मध्येकै उत्कृष्ट र पृथक रहने गरि तयारी भइरहेको आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रमको समापन समारोहमा गायक प्रताप दास, गायिका अस्मिता अधिकारी, हास्य कलाकारहरु शेरबहादुर गुरुङ, कैलाश कार्कीलगायतका राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । पुरस्कार वितरण सहितको समापन समारोहमा सोलुखुम्बुका प्रतिनिधीसभा सदस्य हेम कुमार राई ‘शूरवीर’ प्रमुख अतिथिको रुपमा आउनुहुने क्लबका अध्यक्ष शेर्पाले बताउँनुभयो ।