
सोलुखुम्बु : जिल्लामा भर्खरै स्थापना भएको स्टार युथ क्लबले विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ बारे जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण हुनबाट कसरी सुरक्षित हुने, यदि संक्रमण भएमा भाइरसलाई जित्नका लागि के कस्ता उपायहरु अवलम्बन गर्ने र यदि संक्रमणबाट कसैको मृत्यु भएमा शवको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धि चेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।
शनिबार थुलुङ दुधकोशी गाउँपालिकामा कार्यक्रम आयोजना गरेको क्लवले आइतबार सोलु दुधकुण्ड नगरपालिकामा तालिमको आयोजना गरेको हो । स्थानीय तहहरुको सहकार्यमा आयोजीत उक्त तालिमको सहजीकरण काठमाडौंबाट आएको आरएनए–१६ ग्रुपको समुहले गरेको क्लवका महासचिव बिजय तामाङले जानकारी दिनुभयो ।
देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन र दाहसंस्कार गर्दै आएको छ । पछिल्लो समय सोलुखुम्बुमा समेत महामारीको जोखिम उच्च बन्दै गएकोले जनस्तरमै जनचेतना फैलाउने उद्देश्यले तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताउँनुभयो । प्रशिक्षकहरुले आफू वा आफन्त कसैमा संक्रमण देखिए बिरामी हुँदाको अवस्थामा हेरचाहका लागि के–कस्ता उपायहरु अवलम्बन गर्ने र संक्रमित कसैको निधन भइहाले शव व्यवस्थापनका लागि के–कस्ता स्वास्थ्य सामग्रीहरुको प्रयोग गर्ने वा ती सामग्रीको सुरक्षित प्रयोग कसरी गर्ने लगायतको विषयमा सहजीकरण गरेका थिए ।

नगरपालिकामा नगर प्रहरी, विभिन्न संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र क्लबका सदस्यहरु गरि जम्मा ३३ जना र थुलुङ दुधकोशी गाउँपालिकामा गाउँ प्रहरी, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि र क्लबका सदस्यहरु गरि जम्मा ३७ जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जिल्ला भरिका स्थानीय तहहरुमा यसप्रकारको तालिम संचालन हुन आवश्यक रहेको बताउँनुभयो ।
अध्यक्ष राईले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा यसप्रकारको जोखिम निम्तिएको बेला जिल्लाका हरेक स्थानीय तहहरुमा यसप्रकारको तालिमहरु संचालन हुनु जरुरी छ । यसले जनताको सुरक्षित स्थास्थ्यको सुनिश्चिततामा मद्दत पुग्ने छ, म सबै स्थानीय तहहरुलाई यो तालिम आयोजना गर्न आव्हान गर्दछु ।’
त्यसैगरि सहभागी कुसाङ तामाङले तालिममा सहभागी भएर धेरै कुराको ज्ञान भएको र कोरोनाबाट बच्नका लागि यसप्रकारका तालिमहरु संचालन हुनु जरुरी रहेको बताउँनुभयो ।