सुनमा छैन मुनाफा, नयाँ पुस्ताले व्यवसाय छोड्न थाले

नेपालमा तस्करीको सुन भित्रिरहँदा वैधरुपमा कसरी सुन भित्रन्छ भन्ने एउटा जिज्ञासा हुनसक्छ । नेपालमा २०६६/६७ साल अगाडि विदेश गएर आउनेहरुलाई पनि सुन ल्याउने सुविधा थियो । सरकारका कर्मचारी तथा अन्य नागरिकहरु पनि बाहिर गएर आउँदा सुन चाँदी सजिलै ल्याउन पाउने व्यवस्था थियो । सुन ल्याउनलाई अहिले जस्तो कडिकडाउ थिएन । सुन ल्याउन पनि सजिलो अनि सस्तो पनि थियो । माग पनि कम भएको हुनाले बजारको आवश्यकता त्यसैगरी पूर्ति भइरहेको थियो ।

तर, २०६६/६७ सालमा भने नेपाल सरकारले कसैले पनि सुन झिकाउन नपाउने गरी प्रतिबन्ध लगायो । त्यसबेला वस्तु तथा सेवा आयात गर्नका लागि चार महिनाका लागि मात्र पर्याप्त विदेशी मुद्राको सञ्चितिको कारण देखाइएको थियो । त्यसकारण त्यसबेला सुनको काम गर्ने व्यवसायीलाई गहना बनाउनका लागि अपुग सुन झिकाउने भनेर राष्ट्र बैंकलाई जिम्मा दिइयो । त्यो पनि केवल ६ महिनाका लागि मात्र भनेर जिम्मा दिइएको थियो । तर, ६ महिनाको लागि भनेर बिर्को लगाउने काम गरेको आज १३ वर्ष बितिसक्दा पनि अवस्था उही छ ।

२०६६/६७ सालमा असहज परिस्थितिका कारण भनेर लागू भएको कोटा प्रणाली अहिले पनि उही छ । त्यसबेला नेपालभरिका लागि भनेर दैनिक २० किलोका दरले राष्ट्रबैंकले तोकेको वाणिज्य बैंकमार्फत् सुन आयात गर्ने भन्ने व्यवस्था मिलाइयो । अहिले पनि हामीकहाँ राष्ट्रबैंक मातहत उसले तोकेको वाणिज्य बैंकहरुले सुनको आयात गर्छन् । नेपालमा सुन ल्याउने वैध बाटो भनेको यही हो ।

नेपालमा राष्ट्रबैंकले तोकेका वाणिज्य बैंकहरुले विश्वका विभिन्न बजारबाट ५०/५० किलोका दरले सुन खरिद गरेर ल्याउने काम गर्छन् । जसमा दुबई तथा हङकङ प्रमुख बजार हुन् भने टर्कीबाट पनि खरिद गर्ने काम हुन्छ । विश्वका यी प्रमुख सुन बजारहरु हुन् ।

२०६६/०६७ सालमा दैनिक २० किलोका दरले राष्ट्रबैंकले तोकेको वाणिज्य बैंकमार्फत् सुन आयात गर्ने भन्ने व्यवस्था मिलाइयो । तर, सुनको माग सधैँ एकैरुपले हुने कुरा होइन । बिहावारी, लगन, चाडबाड नभएको बेला थोरै सुन भए पुग्छ । दशैँ, तिहार अनि बिहे, व्रतबन्धको समयमा धेरै माग हुने गर्छ सुनको । यस्तोमा आवश्यक परेको बेलामा ५/५ किलोको दरले बढाउन घटाउन सकिने व्यवस्था थियो ।

२०६९ सालमा सुनचाँदी व्यवसायी महासङ्घको गठन भएपछि महासङ्घको पहलमा बजारको माग अनुसार २० किलोबाट बढाएर २५ किलो तथा आवश्यक नभएका बेला घटाएर १५ किलो बनाउने पनि गरिएको थियो।

तर, पछिल्लो समय भने दैनिक १० किलोको कोटा निर्धारण गरिएको छ । यसमा भने बजारको मागमा जति उतारचढाव आए पनि यो कोटामा घटबढ हुने गरेको छैन । जबकि अहिले नेपालभरी ठूला, साना गरेर २५ हजार सुनचाँदी पसल छन् । ती सबै पसलेलाई १० किलो सुन भनेको १० हजार ग्राम हो । एक हजार ग्रामको एक किलो हुन्छ । १० हजार ग्रामले २५ हजार पसलेलाई बाँड्दा दिनको आधा ग्राम हुन आउँछ । त्यो भनेको एक आना पनि हुँदैन । अब त्यसले पसल चल्छ कि चल्दैन भन्ने कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने हो । त्यो दिइएको पाइँदैन । यसरी पुस्तैनीरुपमा सुनचाँदीको व्यवसाय गरिरहेकाहरुले व्यवसाय कसरी गर्छन् भन्ने बारेमा सरकारले पनि ध्यान दिनुपर्ने हो ।

व्यवसायीले पर्याप्त मात्रामा सुनचाँदी नपाउँदा के समस्या भयो भने लगनको बेलामा पसलेले भनेको बेलामा आफूले लिएको अर्डर अनुसारको गहना समयमा तयार गरेर दिन नसक्ने भए । बिहावारीको समयमा अर्डर पहिल्यै लिनुपर्ने तर दिने बेलासम्म पनि सुन किन्नै नपाइने भयो । अब अर्डर लिइसकेको लगनको गहना जसरी पनि दिनैपर्ने हुन्छ । यसले गर्दा जहाँ सुन पाइन्छ त्यहाँ किनेर चलाउनुपर्ने अवस्था आयो । कहिलेकाहीँ चार/पाँच हजार रुपैयाँ तोलामा बढी तिरेर आफूले अर्डर लिएको रकममा दिनुपर्ने अवस्था आयो । यति हुँदा पनि सरकारले व्यवसायीको माग सम्बोधन गरेन र केही सुनुवाइ गरेन ।

पछिल्लो पटक सरकारले तोकेको वाणिज्य बैंकहरुमार्फत् दैनिक १० किलोबाट बढाएर २० किलो सुन दिने व्यवस्था गरेको छ । तर दैनिक २० किलो भनेर बैंकले दैनिक २० किलो सुन ल्याउने होइन । बैंकहरुले भने एकपटकमा ५० किलो सुन आयात गर्ने गर्छन् । उनीहरुले पनि यसमा दैनिक झिकाउन नमिल्ने हुँदा हप्ता/दश दिनमा आफ्नो कोटा अनुसार झिकाउने हो ।

यस्तोमा एक किलो सुन किन्ने पसलले केही आफ्नो पसललाई राखेर अरु भने महासङ्घको लिस्ट अनुसारका पसलेलाई दिनुपर्छ । एक किलोमा झण्डै ८६ तोला सुन हुन्छ । त्यसमा खरिद गर्नेले १५ तोला राखेर अरु बाँकी ७० तोला भने महासङ्घको लिस्ट अनुसार बाँड्नु पर्छ । त्यो भनेको सानोतिनो पसलेले १५ दिनमा ५० ग्राम पाउने पाउँछ । त्यो भनेको सवा चार तोला हो । दैनिक कोटामध्ये पनि सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले आफ्नो आफ्नो हिस्सा अनुसार सुन पाउँछन् । त्यसमा पनि सम्बन्धित महासङ्घको सिफारिसमा कारोबारको परिणाम हेरेर आलोपालो गरेर मात्र सुन किन्न पाइन्छ बैंकसँग । यसरी यही काम गरी खान्छु भन्ने व्यवसायीलाई एकदमै गाह्रो छ । अब पुस्तौँ यही काम गरेर आएको व्यवसायीले यो काम छोड्न पनि सकेका छैनन् । गरी खाउँ भने पनि साह्रै गाह्रो अवस्था छ ।

हेर्दा सुनचाँदी व्यवसायमा एकदमै नाफा छ कि जस्तो देखिन्छ । तर, सुनचाँदी व्यवसायमा महासङ्घले तोकेको रेटमा नै खरिदबिक्री गर्नुपर्ने हुन्छ । जस्तो महासङ्घले एक लाख १७ हजार तोकेको छ भने उसले किन्ने पनि त्यही रकममा र बेच्ने पनि त्यही रकममा नै हो । यसो हुँदा कसरी नाफा हुन्छ भन्ने प्रश्नमा हाम्रो काम भनेको ज्यालादारी काम हो । हामीले काँचो सुनको व्यापार गर्न पाउँदैनौँ । तयारी सुन लिएर गहना बनाएर बेच्ने मात्रै हो । यो व्यवसायमा धेरै आफ्नो पुर्ख्याैली पेसालाई निरन्तरता दिने उद्देश्यले मात्र टिकिरहेका छन् । व्यवसायमा गहना सबै अरुलाई बनाउन दिनुपर्ने, विश्वासमा आफूले बिल लेखेर दिएरपछि आफूले फिर्ता लिनुपर्छ भनेर झण्झट मान्ने धेरैले यो पेशा छोडिसकेका छन् । यसकारण पुर्ख्याैली पेसा भएकाहरुको नयाँ पुस्ताले यो व्यवसायमा रुचि नराखेर विदेश गइरहेको पाइन्छ ।