सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा कुरा धेरै काम थोरै भइरहेको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित नागरिक अभिनन्दनमा उनले पछिल्लो दुई दशकमा अपनाएको शासन पद्धति सही र सार्थक नभएको बताए ।
‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ?,’ शाहले भने, ‘हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौं, त्यसबाट थाहा पाउँछौं, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’
पूर्वराजा शाहले शासन प्रणालीलाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता र समाजको सर्वोत्तम सेवा र सम्मान नै प्रमुख रहेको बताए । ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो’ उनले भने, ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर गरिने सुशासन र विकास नै हो ।’