उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थकाे बिक्री/वितरणमा रोक लगाउने काठमाण्डौ महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
श्रीराम टोवागो उद्योगले महानगरविरुद्ध दायर गरेकाे मुद्दामा आज शुक्रवार उच्च अदालतका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलगेसम्म गएको मङ्सिर १२ गते महानगरले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री/वितरणमा रोक लगाएको छ । साथै सार्वजनिक ठाउँमा बिडी, चुरोट खान पनि रोक लगाएको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा २०८१ साल वैशाख १ गतेदेखि जैविक रूपमा सडेर जाने 'बायो डिग्रेडेबल' जैविक वस्तुमा प्याकिङको व्यवस्था मिलाउने नीतिगत सुधारको घोषणा गरेको र त्यसअनुसार उद्योगीले आवश्यक प्याकिङको व्यवस्था मिलाउने दाबी गरेका छन् । उद्योगहरूले रितपूर्वक उद्योग सञ्चालन गरी कर तथा राजस्व तिर्दै आएको अवस्थामा जनस्वास्थ्य ऐनलाई आधार मानेर पूर्ण प्रतिबन्ध लगाउने महानगरको निर्णयले उद्योग व्यवसायमा प्रतिकूल असर गरी क्षति पुग्न सक्ने इजलासको ठहर छ ।
काठमाण्डाै महानगरले हिजो बिहीवारदेखि नै यसअघिको निर्णयअनुसार बजारमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको थियो ।