तेन्जिले गरे १८ औँ पटक सगरमाथाको सफल आरोहण  

जेठ १०
सोलुखुम्बु : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जि शेर्पा १८औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । समीट ट्रेक मार्फत सगरमाथा आरोहणमा गएका क्लाइम्बिङ गाइड शेर्पा सात जना आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेको कम्पनीले जनाएको छ ।

सोही कम्पनी मार्फत सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो । अमेरीकन नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याक सहित उनीहरुका ४ जना सहयोगी क्लाइम्बिङ शेर्पा सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधारशिविरबाट लाक्पा दावा शेर्पाले जानकारी दिए । उनीहरु अब तीन दिनमा आधारशिविर आईपुगेर काठमान्डौ फर्कने बताइएको छ ।

आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने आज साउथ समिटमा अत्याधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भएपनि एक्किन विवरण भन्न नसकिने उनको भनाई छ ।

कोभिड–१९ संक्रमको जोखिमका कारण विवरण संकलनमा समस्या भएको उहाँको भनाई छ । जोखिम न्यूनिकरणका लागि एक अर्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको श्रेष्ठको भनाई छ ।

यस्तै सयौ आरोही अनुकुल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइएको छ । तर केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुनसक्ने भएकाले सोही समयको पर्खामा रहेको बताइएको छ ।