
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा थ्रिस्टारले संकटा क्लबमाथि ३-० गोल अन्तरको जित दर्ता गरेको हो ।
जितसँगै थ्रीस्टार ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । थ्रिस्टारले ११ खेलमा २१ अंक बनाउँदा पराजित भएको संकटाले १४ अंक बनाएको छ ।
थ्रिस्टारलाई जित दिलाउँदा मार्टिन कायोडे अजाइले २ र सन्तोष साहुखलले १ गोल गरेका थिए । ४२ औं मिनेटमा अजाइले गोल गर्दै थ्रिस्टारलाई अग्रता दिलाए ।
अनिल महर्जनको थ्रोलाई सदुपयोग गर्दै उनले अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा अजाईले नै हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि थ्रिस्टारले अग्रता दोब्बर बनाए ।
५१ औं मिनेटमा अजाइ, पेनाल्टीमा चुक्न पुग्दा थ्री स्टारले अग्रता तेब्बर बनाउन असफल रह्यो ।
दोस्रो हाफको अतिरिक्त समयमा सन्तोष साहुखलले व्यक्तिगत पहिलो गोल गर्दा थ्रिस्टार ३-० को सहज जित निकाल्न सफल भयो ।