थुलुङ दुधकोशीलाई ईको हिमालको सहयोग

सोलुखुम्बु – ईको हिमाल नेपालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना नियन्त्रण तथा संक्रमितको उपचारका लागि अति आवश्यकीय सामाग्रीहरु अक्सिजन कन्सन्टेटर, पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क, पिपिई सेट, एन्टिजेन किट लगायतका १३ प्रकारका स्वास्थ्य सामाग्री प्रदान गरेको ईको हिमालका प्रशासन तथा सञ्चार व्यवस्थापक केशवराज भूषालले जानकारी दिए ।

त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिकालाई उद्योगपति किरण एसजेवि रानाको पहलमा सिदार्थ बनस्थली ग्रुपबाट २ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्टेटर सहितका स्वास्थ्य सामाग्री प्राप्त भएको स्वास्थ्य शाखा संयोजक उद्धव ढुंगानाले जानकारी दिए ।

सहयोगी संस्थालाई गाउँपालिका अध्यक्ष असिम राईले धन्यवाद दिएका छन् । कोरोना नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुसंग समन्वय र सहकार्य गरिरहेको अध्यक्ष राईको भनाई छ । थुलुङ दुधकोशीले मुक्लीमा १० बेडको कोभिड अस्पताल संचालन गरेर संक्रमितको उपचार गरिरहेको छ ।