थुलुङ दुधकोशीमा एकीकृत सिकाई सहजीकरण तालिम शुरु

सोलुखुम्बु – सरकारले लागु गरेको परिवर्तित आधारभुत तह (कक्षा १ देखि ३) को पाठ्यक्रममा आधारित रहेर रीड नेपालले स्थानिय सरकारको समन्वयमा सोलुखुम्बुका शिक्षकहरुलाई एकीकृत सिकाई सहजिकरण तालिम सञ्चालन गरिरहेको छ । यसैक्रममा आईतबार देखि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा तालिम सुरु गरिएको छ ।

विरेन्द्रोदय मावि मुक्लिमा शुरु गरिएको तालिमको शुभारम्भ थुलुङ दुधकोशी गाउँपालिकाका सामाजिक विकास संयोजक बुद्धिराज राईले गरे । उनले शैक्षिक सुधारमा स्थानीय सरकारले प्राथमिकता दिएको समयमा रीड नेपालले पनि सहयोग गर्नु सुखद भएको बताए ।

थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा शुरु तालिममा शिक्षा शाखा संयोजक प्रेम बहादुर तामाङले तालिममा सिकेका ज्ञान र सीप कक्षाकोठामा प्रभावकारी कार्यान्वयन नभएको तर्फ ध्यानाकर्षण गराउदै यो तालिमले एकीकृत सिकाईलाई सहज बनाउने विश्वास राखे ।

रीड नेपालका (सोलुखुम्बु) शिक्षा विकास संयोजक केशवदेव गिरीले पाठ्यक्रम संगै शिक्षक पनि अपग्रेड हुँदै जानुपर्ने बताए । नेपाली, अंग्रेजी, गणित र हाम्रो सेरोफेरो विषयको एकीकृत सिकाई सहजीकरणबारे तालिममा सिकाइनेछ । उद्घाटन कार्यक्रममा विरेन्द्रोदय मावि व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार राई, प्रध्यानाध्यापक दिलकुमार राई, रीड नेपालका कार्यक्रम संयोजक मुक्ति घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

माप्य दुधकोशी, महाकुलुङ र सोताङ गाउँपालिकामा तालिम सम्पन्न गरिसकेको रीड नेपालले खुम्बु पासाङल्हामू गाउँपालिका बाहेकका अन्य स्थानीय तहमा पनि तालिम संचालन गर्ने तयारी गरेको छ ।