तिहारलाई ४० लाख माला

तिहारको भाइटीका आउन केही दिन बाँकी छ । त्यसैले सयपत्री, मखमली फूल किसानलाई यतिबेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन् । सयपत्री फूल दिउँसै टिपेर माला बनाई भोलिपल्ट बिहानै बजार पुर्‍याउँछन् ।

सयपत्री फूलको माला, गुच्छा र खुला रूपमा बेच्ने गरिन्छ । मखमली भने माला नै बनाएर बेच्ने गरिएको छ ।

नागार्जुनस्थित पोखरीडाँडाका रामशरण तामाङले एकान्ते (सयपत्री फूलभन्दा सानो साइजको फूल) फूल २ सय ढ्वाङ बेचिसकेका छन् । प्रतिढ्वाङ ५ सय रुपैयाँमा बेचिरहेको उनले जनाए । फुलेका सबै फूल बेच्न सके मात्र पनि धेरै हुने उनको भनाइ छ । ‘अझै पनि २ देखि ३ सय ढ्वाङ एकान्ते फूल छन्, सयपत्री र गोदावरी फूल प्रतिगुच्छा २० रुपैयाँमा बेच्छौं,’ उनले भने, ‘अब सबै फूल बेच्न सक्यौं भने लगानी उठ्थ्यो । अलिअलि भए पनि नाफा हुन्थ्यो । हाम्रो स्रोत नै फूल हो ।’ अन्य अन्नबाली जगंली जनावरले खाने हुँदा फूल र रायो, तोरीको साग नै आयस्रोत रहेको उनले सुनाए ।

भक्तपुरकै ताथलीका रामेश्वर बासीले पनि ३ रोपनी जग्गामा सयपत्री फूल खेती गरेका छन् । भूकम्पपछि फूलको व्यावसायिक खेती सुरु गरे पनि सयपत्री फुलाएको गत वर्षदेखि मात्रै हो । गुलाब, जर्बेरालगायत फूलको व्यावसायिक खेती गरेका उनले सयपत्री फूल खेती पनि सुरु गरेका हुन् ।

तामाङ र बासी मात्र होइन, गुन्डु क्षेत्रका अन्य किसान पनि यति बेला फूलका माला बनाउने र बेच्नेसम्मका काममा व्यस्त छन् । गुन्डुसँगै काठमाडौं, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सर्लाही, सप्तरी, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ । मखमली फूलको व्यावसायिक खेती भने विशेषगरी काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी र बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाममा भइरहेको छ ।

यस वर्ष तिहारका लागि मखमली, गोदावारी, सयपत्री र मिक्स माला गरी ४० लाख थान माला खपत हुने अनुमान गरिएको नेपाल फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर लामाले बताए । यस वर्ष तिहारमा सयपत्री माला ३५ लाख, मखमली माला ४ लाख ५० हजार, गोदावरी माला २० हजार थान, मिक्स माला ३० हजार थान खपत हुने उनको अनुमान छ ।

पछिल्ला वर्षमा १० देखि १५ प्रतिशतले फूलको माग बढ्दै गएको छ । मखमली र गोदावरी फूलमा आत्मनिर्भर भइसके पनि सयपत्री फूल आयात गर्नुपर्ने अवस्था रहेको र सरकारले यस वर्ष सयपत्री फूल आयातका लागि आवश्यकताभन्दा बढी अनुमति दिएको लामाले जनाए । ‘सयपत्री फूलको मालामा ८० प्रतिशत आत्मनिर्भर छौं, तर सरकारले कात्तिक १४ र १५ मा मात्रै २८ लाख थान माला ल्याउन अनुमति दिएको रहेछ । त्यसैले सरकारले स्वदेशीलाई भन्दा आयातलाई प्रोत्साहन गरेको देखियो,’ उनले भने, ‘भारतीय फूलको दबदबा बढ्यो भने स्वदेशी फूलले बजार पाउँदैन ।’