त्रिविका शिक्षकका दुई श्रीमती दुई क्वार्टर, यौन हिंसामा जागिर गयो, क्वार्टर छाडेनन्
५२ वर्षीय सुदर्शन धिताल त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका प्लम्बर हुन् । उनका दुई श्रीमती छन् र दुवैलाई त्रिविका छुट्टाछुट्टै क्वार्टरमा बसालेका छन् । जेठी श्रीमतीलाई ‘गर्ल्स होस्टेल’छेउ र कान्छीलाई खानेपानीको गेटनेरको क्वार्टरमा राखिएको छ । प्रिन्सिपल कार्यालयअन्तर्गतका कर्मचारी धितालले दुईवटा क्वार्टर प्रयोग गरेकोबारे क्याम्पस प्रशासन जानकार छ । तर, उनलाई हटाउन भने सेकेको छैन ।
दुई जना श्रीमतीका लागि त्रिविका दुईवटा क्वार्टर प्रयोग गर्न मिल्छ त भन्ने प्रश्नमा धिताल आफूलाई पनि अप्ठ्यारो लागेको बताउँछन् । तर, त्रिवि प्रशासनले आफ्नी कान्छी श्रीमतीलाई खानेपानी आपूर्ति गर्ने जिम्मा अनौपचारिक रूपमा दिएकाले त्यहाँ नजिकैको क्वार्टर पनि पाएको उनको भनाइ छ । ‘चौकीदार राख्नुभन्दा मलाई नै हेर भनेर क्याम्पसले दिएको हो । तर, बस्न अप्ठ्यारो लागेको छ,’ उनी भन्छन्, ‘खानेपानीको मेसिन चलाउने अर्को मानिस पठायो भने म जति बेला पनि त्यो क्वार्टर छोड्न तयार छु ।’
यद्यपि कान्छी श्रीमतीका लागि प्रयोग गरेको क्वार्टर नभएर टिनको टहरा मात्र भएको धिताल बताउँछन् । क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राई पनि कर्मचारीले कलेजको आधिकारिक क्वार्टर नभएर टिनका टहरा प्रयोग गरिरहेको बताउँछन् । राईका अनुसार त्रिविका ६४ वटा क्वार्टर छन् भने ६० वटा टिनका टहरा बनाएर शिक्षक/कर्मचारीलाई राखिएको छ । ‘टहरामा कर्मचारीलाई राखिएको छ,’ उनी भन्छन् । क्याम्पसले ७० प्रतिशत क्वार्टर शिक्षकका लागि र ३० प्रतिशत कर्मचारीका लागि छुट्याएको छ । क्वार्टरमा शिक्षक, वार्डेन, डिन र पुराना कर्मचारीहरू बस्छन् ।
शिक्षकका पनि दुई श्रीमती, दुई क्वार्टर
कर्मचारीको मात्र होइन, केन्द्रीय क्याम्पसका शिक्षकले समेत दुइटा विवाह गरेर दुईवटै क्वार्टर सुविधा उपभोग गर्दै आएका छन् । शिक्षा विभागअन्तर्गत ईपीएम विभागका प्रमुख हुन्, नारायण अधिकारी । उनले पनि दुई श्रीमतीलाई अलगअलग क्वार्टरमा राखेका छन् । जेठी श्रीमतीको क्वार्टर प्राध्यापक आवासको ल्याब स्कुलछेउमा छ भने दोस्री श्रीमतीको गवेषक आवासको ४ नम्बरमा छ । जेठी श्रीमती अधिकारीसँग बस्छिन् ।
अधिकारीकी कान्छी श्रीमती त्रिविकै उपप्राध्यापक र महिला छात्रावासकी वार्डेन हुन् । वार्डेन भएकाले आफ्नी कान्छी श्रीमतीले आवास सुविधा पाएको अधिकारी बताउँछन् । ‘मेरा परिवार दुईवटा हो । मैले पाउनुभन्दा पहिले नै श्रीमतीले क्वार्टर सुविधा पाएको हो,’ उनी निर्धक्क भन्छन्, ‘दुवै जनाले क्वार्टरमा बस्न पाउने पत्र पाएका छौँ । यो मेरो निजी कुरा हो ।’ शिक्षक अधिकारी दुवै श्रीमतीबाट आफ्नो बालबच्चा रहेको बताउँछन् ।
अधिकारीले भनेजस्तै उनकी कान्छी श्रीमती उपप्राध्यापक तथा वार्डेन भएकाले नियमानुसार छुट्टै क्वार्टर दिन सक्छ । तर, कानुनअनुसार भने बहुविवाह दण्डनीय हो । मुलुकी अपराध संहिताको दफा १७५ मा अंशवण्डा गरी भिन्न नभएसम्म विवाहित महिला र पुरुष दुवैले पुनः विवाह गर्न नपाइने उल्लेख छ । यस्तो कसुर गर्ने वा गराउनेलाई १ देखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
अधिकारी माओवादीनिकट शिक्षक हुन् । उनी नेपाल राष्ट्रिय प्राध्यापक संघमा आबद्ध छन् । यही राजनीतिक आडमा अधिकारीले विश्वविद्यालयमा दुईवटा क्वार्टर प्रयोग गरिरहेको त्रिविका प्राध्यापकको गुनासो छ । एक प्राध्यापक भन्छन्, ‘युनिभर्सिटीको शिक्षकको दुई विवाह र दुईवटा क्वार्टर छ भन्दा कस्तो सन्देश जान्छ ? योभन्दा नैतिकहीन काम के हुन्छ ?’
क्याम्पसका प्रिन्सिपल राई भने अधिकारीका दुई जना श्रीमती रहेकोबारे आफूलाई थाहा नभएको बताउँछन् । ‘हामीले क्वार्टर उपलब्ध गराउँदा दुई जना श्रीमती हो भन्ने खुलेको छैन । नखुलेपछि उहाँको श्रीमती हो कि होइन भनेर बुझ्ने कुरा पनि भएन,’ उनी भन्छन् ।
त्रिविमा सेवारत एक जना शिक्षक वा कर्मचारीले तोकिएका मापदण्ड पूरा भएपछि एउटा आवास सुविधा पाउने नियम रहेको राई बताउँछन् । ‘श्रीमतीपिच्छे क्वार्टर उपलब्ध हुँदैन,’ राई भन्छन् । कोही शिक्षक/कर्मचारीले दुई श्रीमती भएकै आधारमा दुईवटा आवास सुविधा पाएको भेटिएमा कारबाही प्रक्रिया अगाडि बढाउने बताउँछन्, प्रिन्सिपल राई । ‘औपचारिक रूपमा श्रीमान्/श्रीमती भएको खुल्नुपर्यो । नखुलेका कारण बोल्न नसकिएको हो । प्रमाण भयो भने आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ,’ उनी भन्छन् ।
यौन हिंसामा जागिर गयो क्वार्टर छाडेनन्
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साहलाई एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा ०७५ फागुनमा निलम्बन गर्यो । यौन दुर्व्यवहारमा जिल्ला अदालत काठमाडौंले पनि उनलाई दोषी ठहर गर्यो । अदालतले दोषी ठहर गरेसँगै उनको जागिर खोसियो । फौजदारी कसुरमा जरिवाना तिरेर सेवाच्यूत भएपछि पनि त्रिवि क्वार्टर छोडेका छैनन् ।
अदालतबाट कसुरदार ठहरिएपछि साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई समाएर आममाफी दिलाउन लागिपरेका थिए । ‘तर सकेनन्,’ एक प्राध्यापकले भने, ‘अहिले सीके राउतको जनमत पार्टीमा लागेका छन् । जागिर खुस्केपछि एक बीमा कम्पनीमा काम गर्छन् । तर, क्वार्टर छोडेका छैनन् ।’
उनलाई प्रिन्सिपल कार्यालयले पटक–पटक क्वार्टरबाट निस्कन ताकेता गर्यो । तर न साहले क्वार्टर खाली गराए, न प्रशासनले निकाल्न सक्यो । कार्यालयले उनको क्वार्टरमा पानी, बत्ती पनि काटिदिएको थियो । ‘तर, मानिसहरूको हुल ल्याएर पानी बत्ती सबै जोडेर बसिरहेका छन्,’ राई निरीहता प्रकट गर्छन् । साह पार्टीको फोर्स लगाएर सरकारी क्वार्टरमा बलजफ्ती बसिरहेका छन् । गत वैशाखमा प्रशासनले प्रहरी बोलाएर साहलाई निकाल्ने प्रयास गरेको थियो । तर, ठूलो संख्यामा मानिसहरू भेला पारेपछि प्रहरीले पनि निकाल्न सकेन । त्यस क्रममा साहसँग आफ्नो धकेलाधकेलसमेत भएको प्रिन्सिपल राई बताउँछन् ।
शिक्षाशास्त्र संकायको डिन कार्यालय स्रोतका अनुसार अदालतबाट दोषी ठहरिएसँगै त्रिविले साहलाई भविष्यमा त्रिवि सेवामा अयोग्य हुने गरी निष्कासन गरेको छ । तर, साह भने क्याम्पसमा हाजिर गर्न पाऊँ भन्दै अदालत गए । अदालतले त्रिविको आवश्यक प्रक्रियाअनुसार कामकारबाही गर्न आदेशसहितको पत्र त्रिविमा पठाएको छ । अदालतको आदेश आएपछि त्रिविको कानुन शाखामा अहिले छलफल भइरहेको छ । ‘फौजदारी अभियोग लागेपछि हाजिर गर्न मिल्दैन । अवकाश पाएपछि क्वार्टर छोड्नुपर्ने हो,’ डिन कार्यालका एक प्राध्यापकले भने ।
यस विषयमा शिलापत्रले साहसँग सम्पर्क गर्दा कुरा गर्न तयार भएनन् । सुरुमा फोन उठाएका उनले क्वार्टर नछोडेको विषय उप्काउना साथ ‘म व्यस्त छु, पछि कल गर्छु,’ भन्दै काटिदिए । तर, उनले फोन फर्काएन् । हामीले बारम्बार सम्पर्क गर्दासमेत उनले फोन उठाएनन् ।
पाउनुपर्नेले पाएका छैनन् क्वार्टर
हडपेर र पार्टीको फोर्समा क्वार्टरमा बस्नेहरूका कारण पाउनुपर्नेले क्वार्टर नपाएको प्राध्यापकहरू बताउँछन् । नेपाली केन्द्रीय विभागका उपप्राध्यापक बालकृष्ण अधिकारीले पढाउन थालेको १५ वर्ष भयो । उनले क्वार्टर सुविधाका लागि निविदेन दिएको पनि तीन वर्ष नाघिसक्यो । ‘क्वार्टर पाउनुपर्ने हो तर पाएको छैन । हामीजस्ताका लागि हुनुपर्ने क्वार्टर अरुले हडपिरहेका छन्,’ उनी भन्छन् ।
सिनियरका आधारमा त्रिविका शिक्षक र कर्मचारीले क्वार्टर पाउने प्रावधान छ । ‘पहिले स्थायी भएको र कुन जिल्लाबाट आएको हो, सबै हेरेर अंकका आधारमा क्वार्टर पाउने हो । तर, यहाँ त शक्तिको भरमा क्वार्टरको दुरुपयोग भइरहेको छ,’ त्रिविका एक कर्मचारी भन्छन् । यसरी दुरुपयोग हुँदा अझै ४० भन्दा बढी शिक्षकले क्वार्टर पाउन सकेका छैनन् । क्याम्पसको नियमअनुसार क्वार्टरमा २० वर्ष बस्न पाउने प्रावधान छ ।