
नेपाली छात्रा बेलायतको सोलिसिटर्स (वकिल) बनेकी छन् । भूतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसिटर्स बन्न सफल भएकी हुन् ।पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन् ।
हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हुन् । हाल ‘बाओर एन्ड बेली सोलिसिटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसिटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन् ।
१० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ बर्ष काठमाण्डौंमा बिताइन् र सन् २००० मा बेलायत पुगेकी हुन् । रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन् ।
डा . जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् । डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन् । रेबेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन् ।
त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिईन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को बर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङघाममा प्यारा लिगलको तालिम लिएकी छन् ।लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई बर्षे ट्रेनी सोलिसिटर्स गरेकी छन् ।
छोरी रेबेका सोलिसिटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ । दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पुरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए । ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ ।
र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अबसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्या सपनाहरु केही पनि छैनन् ।मैले जे आशा एवं अपेक्षा गरेको थिएँ । आज त्यो सबै पुरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु ।’ (नेपालवाइडबाट)