अमेरिकाबासी नेपालीको कथा भन्दै गौतम सागर

काठमाडौं । गायक, पत्रकार तथा साहित्यकार गौतम सागर राई पोडकाष्ट मार्फत आउने तयारी गरेका छन् । विगत ८ वर्ष देखि अमेरिकामा बस्दै आएका राईले हप्तामा एउटा पोडकाष्ट लिएर आउने भएका हुन् ।

'हाम्रो आवाज न्युज डटकम' र 'हाम्रो आवाज अनलाइन टिभी'का प्रबन्ध निर्देशक समेत रहेका राईले अमेरिकामा सङ्घर्षरत नेपालीको कथालाई पोडकाष्ट मार्फत प्रस्तुत गर्ने जमर्को गरेका हुन् ।

उनले भने, ‘अमेरिकाको व्यस्त जीवनबाट केही घण्टा समय व्यवस्थापन गरेर हप्तामा एउटा कथा भन्ने कोसिस गरेको छु । हेरौँ, दर्शक श्रोताको माया कस्तो पाउँछु ।’

अमेरिकाको कोलोराडोमा टिबेट रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उनले प्रविधिको प्रयोग गर्दै पोडकाष्ट मार्फत आउन लागेको बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समय र प्रविधिले बनाएको सञ्चार सँगै अब देखि मा जोडिने जमर्को गरेको छु । आउनुहोस् है... व्यस्त जिन्दगीलाई हप्तामा एक दिन थकाई मेटाऊ, दुख सुखका कुराकानी गर्दै ।’

सोलुखुम्बुको सोताङका उनी नेपालमा रहँदा पनि पर्यटन, गीतसङ्गीत, साहित्य र पत्रकारितामा सक्रिय थिए ।