‘रेडियोबाट सिकाई’लाई प्रभावकारी बनाउनेमा सोलुका सरोकारवालाको जोड

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरुको भेलाले कोरोनाका कारण ठप्प बनेको शैक्षिक क्षेत्रलाई चलायमान बनाउनका निम्ति ‘रेडियोबाट सिकाई’ कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यकता औल्याएको छ ।

अस्टे«लियन एड र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको आर्थिक सहयोग तथा सोलुखुम्बुका स्थानीय तहको समन्वयमा रीड नेपाल, हिमालयन ट्रष्ट नेपाल, इको हिमाल नेपालको सहकार्यमा आईतबार देखि विहिबार सम्म दैनिक ४ वटा रेडियो कक्षा प्रसारणमा छन् ।

बुधबार सल्लेरीमा आयोजित किक अफ एण्ड प्रोगाम इन्डक्सन मिटिङका क्रममा भौतिक उपस्थितीमा शिक्षण क्रियाकलाप संचालन गर्ने सम्भावना नरहेकाले रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम रेडियोबाट सिकाईलाई नै प्रभावकारी बनाउन आवश्यक रहेको सरोकारवालाले बताए । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले रीड नेपालद्धारा यो वर्ष संचालन हुने कार्यक्रमबारे जानकारी दिनुका साथै शिक्षक र अभिभावकहरुले गरेका आशा अपेक्षाका बारेमा प्रष्ट पारेका थिए ।

कोरोनाका कारण विद्यालय संचालन नभएको अवस्थामा पनि विद्यार्थीहरुलाई सिकाई क्रियाकलापसंग जोड्ने उद्देश्यले अभ्यास पुष्तिका, विपन्न परिवारका विद्यार्थीलाई ५ सय वटा रेडियो वितरणसंगै रेडियो कक्षा संचालन गरिरहेको रीड नेपालले यो वर्ष केही नयाँ कार्यक्रमहरु पनि संचालन गर्ने भएको छ । शिक्षक तालिम तथा गुणस्तरीय समावेशी शिक्षा र इमर्जेन्सी रेस्पोन्स परियोजना अन्तरगत नयाँ कार्यक्रमहरु संचालन गर्ने तयारी गरिएको संयोजक गिरीले बताए ।

उनका अनुसार सिकाई सहजिकरणका लागि प्रधानाध्यापकद्धारा शिक्षक परिचालन, आईसिटी व्यवस्थापन, छनौट विद्यालयहरुमा कक्षा ६–८ का लागि उपचारात्मक शिक्षण सिकाई, बाल क्लब परिचालन तथा क्षमता विकास, अभिभावक अभिमुखिकरण तथा सचेतना र विद्यालयस्तरीय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । शिक्षा विकास संयोजक गिरीले रेडियोबाट सिकाईलाई प्रभावकारी बनाउनका लागि शिक्षक र अभिभावकहरुको भुमिका महत्वपूर्ण भएकाले विद्यार्थीहरुलाई उचित समयको व्यवस्थापन र परिचालन गर्न आग्रह गरे ।

वैठकमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले पर्याप्त तालिम संचालन भएता पनि उपलब्धि नदेखिएकाले शिक्षक अझ जिम्मेवार बन्नुपर्ने बताए । उनले रेडियोबाट सिकाईलाई प्रभावकारी बनाउन अनुगमनमा जोड दिए ।

वैठकमा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, प्रमुख प्रशासकिय अधिकृत लालबाबु कवारी, शिक्षा शाखा संयोजक गोपालराज भुजेल, महिला तथा बालबालिका शाखा संयोजक रिता ढुंगाना, नगरपालिका भित्रका १० वटै माध्यमिक विद्यालयका प्रध्यानाध्यापक लगायत रीड नेपालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।