
सोलुखुम्बु – सोलुखुम्बुका पुराना कम्यूनिष्ट नेता डि.बि. किराँतीको निधन भएको छ । मस्तिष्कको नशामा देखिएको समस्याका कारण काठमाण्डौँ स्थित न्यूरो अस्पतालमा उपचारत किराँतीको गएराति निधन भएको परिवारलाई उदृत गर्दै एमाले नेचासल्यानका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए ।
शारिरीक कमजोरी महसुस गरेपछि नेचामै ३ दिन आराम गरेका किराँतीलाई समस्या बढ्दै गएपछि जिल्ला अस्पताल फाप्लु भर्ना गरिएको थियो । फाप्लुमा दुई दिनको उपचारपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको थियो । करिब एक हप्ता आइसियूमै राखेर उपचार गरिएको उनको नर्मल वार्डमा सारिसकेपछि गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सुगर र प्रेसरको समेत रोगी रहेका ६६ बर्षिय किराँतीको निधन अघि गरिएको कोभिड परीक्षणबाट रिर्पोट पोजेटिभ आएकाले अन्त्यष्टि कसरी गर्ने भन्नेबारे टुंगो लागेको छैन् । जन्मभूमि ओखलढुंगा रुम्जाटारमा भएपनि सोलुखुम्बुको नेचासल्यान २ सल्यानलाई कर्मभूमि बनाउदै आएका उनी राजनिति, साहित्य र कृषिमा सक्रिय थिए ।
सल्यानमा कृषि फार्म संचालन गर्दै आएका उनले नेचासल्यानलाई अर्गानिक स्थानीय तह बनाउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए । सोलुखुम्बुमा कम्यूनिष्ट पार्टी स्थापनाकालका संस्थापक ५ मध्येका एक किराँती निरन्तर कम्यूनिष्ट आन्दोलनमा सक्रिय थिए । पदाधिकारी तहमा कहिल्यै दाबी नगर्ने उनी निरन्तर कमिटीमा रहेर राजनितिक सक्रियता देखाउदै आएका थिए ।
गएको निर्वाचनमा प्रदेश सभा ‘क’मा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेपनि जिल्लामा सहमति नजुुटेपछि आफ्नो दाबीबाट पछि हटेका थिए । उनी अहिले एमाले प्रदेश १ कमिटीमा सदस्यको रुपमा क्रियाशिल थिए ।
साहित्यतर्फ उनको विशेष रुची थियो । उनले सामाजिक उपन्यास‘खोजी’, लघुकाव्य ‘के तिमि जिउँदै छौ ?’, सामाजिक पुणांकी नाटक ‘चुनौती’, निबन्ध सग्रह ‘चौतारो’ र ‘के हो नयाँ नेपाल’, कविता संग्रह ‘पागलको डायरी भाग १ र २’लगायतका कृषि प्रकाशित गरिएको छ ।