आगोले जलेको २३ दिन पछि सोलु एफ.एम. पुनःप्रसारणमा

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुबाट सञ्चालित पुर्वीक्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. पुनःप्रशारणमा आएको छ । सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पुमा रहेको मुख्य स्टुडियोमा आगलागी हुँदा २३ दिन देखि रेडियोको प्रशारण बन्द रहेको थियो ।

समुद्र सतहदेखि करिब ३३ सय मिटर उचाईमा रहेको सोलुदुधकुण्ड नगरपालिका–८ थालेडाँडामा रहेको रिपिटर टावरमा अस्थायी स्टुडियो निर्माण गरि प्रशारण पारम्भ गरेको सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।  २०६१ साल भदौ ११ गते एक सय वाट प्रशारण क्षमताबाट सञ्चालमा आएको सोलु एफ.एम. एक हजार वाट क्षमताबाट २४ सै घण्टा प्रशारणमा रहेको थियो ।

 आगलागीका कारण एफ.एम.को सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित मुख्य स्टुडियो निर्माणको चरणमा रहेकाले तत्काल पत्तालेबाट दैनिक १० घण्टा (विहान ५ः५५ बजे देखि ११ बजे सम्म र दिउँसो ४ बजे देखि राती ९ ः१५ बजे सम्म) मात्रै प्रसारण हुने एफ.एम.का स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिए ।

 “आगलागीबाट करोडौको क्षती बेहोरेको रेडियोलाई पुनःसञ्चालनका लागि गाउँबस्ती देखि देश विदेशबाट सहयोग प्राप्त भयो ।” सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले भने, “सबैको सहयोगबाट रिपिटर टावरमा अस्थायी स्टुडियो निर्माण गरि आंशिक प्रशारण पारम्भ गर्न सफल भयौ ।”

 कठिन परिस्थितीमा रहेको रेडियोले नागरिकको सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न रातदिन नभनिकन पुनःप्रशारणमा जोड दिएको अध्यक्ष श्रेष्ठको भनाई छ । “अहिले दोर्पुमा पनि अस्थायी स्टुडियो निर्माणकै क्रममा छौ ।” अध्यक्ष श्रेष्ठले भने, “आधुनिक प्रविधि सहितको स्थायी स्टुडियो निर्माण गर्न केही महिना लाग्न सक्छ, तर हामी अस्थायी स्टुडियोबाट नियमीत कार्यक्रम प्रशारण गर्छौ ।”

 “आवाज बिहिनहरुको आवाजको रुपमा रहेको रेडियोलाई चाडो भन्दा चाडो प्रशारण गर्न सबैको सहयोग प्राप्त भईरहेको छ ।” भावुक हुँदै अध्यक्ष श्रेष्ठले भने, “तपाईहरु सबैको सहयोगले गर्दा आज अस्थायी रुपमै भएपनि प्रशारण गर्न सफल भयौ, सबैलाई धन्यवाद दिन चहान्छौ ।”

पुनःप्रशारणका लागि गाउँबस्ती देखि देश विदेशबाट सहयोग आउनेक्रम जारी रहेको योङ स्टार क्लवका सूचना तथा सञ्चार विभाग प्रमुख एवम् सहयोग संकलन समितिका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए । “देश विदेशबाट सहयोग रकम जुट्नेक्रम जारी रहेको छ ।” श्रेष्ठले भने, “अहिले सम्म करिब २ सय भन्दा बढी नागरिकले रु.६० लाख बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।” प्राप्त सहयोग रकमलाई औपचारीक कार्यक्रमका बीच सार्वजानिक गर्ने एफ.एम.ले जनाएको छ ।  

 फागुन १६ गते मध्य रातमा आगलागी हुँदा रेडियोको सम्पुर्ण उपकरण सहित भौतिक संरचना जल्दा रु.१ करोड १८ लाख बढीको क्षती भएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटुवालले बताए । आगलागीको कारण पत्ता लागेको छैन । यस विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।