विश्वविद्यालयले दीक्षित मात्र होइन बजारमा बिक्ने पनि बनाउनुपर्छ
दशरथ रङ्गशालामा कालो टोपी, कालो गाउन अनि पहेँलो स्कार्फमा सजिएकी सन्ध्या चौलागाईँको खुसी मुहारमा प्रष्ट देख्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा दीक्षित हुन साथीहरुसँग आउनुभएकी चौलागाईँ शिरको कालो टोपी घरि झिक्दै घरि लाउँदै गर्नुहुन्छ । उहाँका साथीहरुको मुहारमा पनि यस्तै खुसी देखिन्छ । काभ्रे चौँरीदेउराली गाउँपालिकाकी चौलागाईँ व्यवस्थापन सङ्काय अन्तर्गत बीबीएस परीक्षा पास गरेर दीक्षित हुन दशरथ रङ्गशाला आउनु भएको हो ।
विदेशी विश्वविद्यालयमा हुने गरेको दीक्षान्त समारोह हेरिरहनुभएकी उहाँलाई आफ्नै देशमा पनि यस्तै किसिमको समारोह भइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसपटक त्यस्तै समारोह आयोजना गरेकोमा उहाँ आफूलाई गौरवान्वित भएको महसुस पनि गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा पनि विदेशको जस्तो दीक्षान्त समारोह गर्न सकिन्छ भन्ने लागिरहन्थ्यो । अहिले त्रिविले यस किसिमको समारोह गरेकोमा धेरै खुसी तथा गौरवको महसुस भएको छ ।’
त्रिविलाई उहाँको सुझाव पनि छ, ‘यसरी समयमै नतिजा आएर समयमै दीक्षान्त समारोह गर्न सकियो भने नेपाली विद्यार्थीले विदेशी दीक्षान्त समारोहलाई देख्न मात्र पाउँदैनन यहीँ त्यस्तै अनुभव आफूले पनि गर्न पाउँछन् ।’
दीक्षान्त समारोहले विदेशी विश्वविद्यालय बिर्सायो । अब गुणस्तर पनि विदेशी विश्वविद्यालय जस्तो भइदिए हुन्थ्यो भन्ने चौलागाईँको चाहना छ । उहाँ भन्नुहुन्छ, ‘यहाँको विश्वविद्यालयको पढाइ पनि विदेशी विश्वविद्यालयमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको छ।’
अब व्यवस्थापनमा स्नातक गरेपछि उहाँ यसै अनुसारको काम पनि खोजिरहनु भएको छ । तर, रोजगारीको भने यहाँ समस्या रहेको उहालाई लागिरहेको छ । यसका लागि पनि सरकारले केही गर्नुपर्ने भन्ने उहाँलाई लाग्छ । धेरै विद्यार्थीहरु अहिले पढ्नका लागि भन्दा पनि कामका लागि विदेश जाने हुँदा यहीँ पढाइ अनुसारको काम दिन सक्ने हो भने विद्यार्थीहरु विदेश नजाने उहाँको विचार छ ।
उहाँ भन्नुहुन्छ, ‘जुन तहमा पढिरहेको हो त्यही अनुसारको रोजगारी सृजना हुने हो भने विद्यार्थीहरुले विदेशी भूमिमा गएर पसिना बगाउनु पर्दैन । पढ्नलाई नै भनेर त थोरै विद्यार्थीमात्र बाहिर गइरहेका हुन्छन् ।’
त्रिविको ४९औँ दीक्षान्त समारोहमा यस वर्ष १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भए । त्यसैमध्येका एक हुनुहुन्छ डा. गगन अधिकारी । सिन्धुपाल्चोकको चौतारा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट अधिकारी एमएस डेन्टल सर्जरीमा दीक्षित हुन आउनु भएको हो । उहाँ यसअघि काठमाण्डौ विश्वविद्यालयबाट एमबीबीएसमा दीक्षित भइसक्नु भएको हो ।
उहाँलाई यहाँको पढाइको गुणस्तर विदेशको जत्तिकै नलागे पनि प्रतिस्पर्धा गर्न नसक्ने किसिमको भन्ने लाग्दैन । उहाँ भन्नुहुन्छ, ‘विदेशको जत्तिको डिग्री त नहोला तर, धेरै विकसित चरणमा छ ।’
उहाँ आफू लोकसेवा पास गरेर अहिले काम गरिरहे पनि अवसरको कमी भने रहेको भन्ने लाग्छ । अवसरको सृजना गर्न नसक्ने हो भने विद्यार्थीलाई यहाँ रोक्न नसकिने उहाँको आफ्नै अनुभव पनि छ । उहाँको एमएस डेन्टल सर्जरी ब्याचमा दश जना थिए । जसमा दुई जना विदेशी थिए । अरु दुई जना यहाँ काम गरिरहेका छन् । बाँकी छ जना भने विदेश जाने तयारीमा रहेका छन् । यसले पनि यहाँ अवसरको कमी रहेको स्पष्ट हुने उहाँको भनाइ छ । अवसरको लागि पढाइलाई केही प्रयोगात्मक बनाउनुपर्ने पनि उहाँको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, ‘हामीकहाँ प्राक्टिकल एजुेकेशन सिस्टम छैन । दीक्षित भइसकेको विद्यार्थी बजारमा जाँदा कम्तीमा बजारले खोज्ने आधारभूत कुराहरु चाहिन्छ । एउटा ब्याचलर गरेको मान्छे टिप्पणी र निवेदन लेख्न आउँदैन भने कसरी काम गर्ने । यस्तो सुधार जरुरी छ ।’
मानवीय सङ्काय अन्तर्गत ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका अभिषेक आचार्य पनि दशरथ रङ्गशालामा दीक्षित हुन आइरहनु भएको छ । उहाँलाई यहाँको पढाइको स्तर नराम्रो लाग्दैन । तर, त्यसका लागि आफूले पनि केही मेहनत गर्नुपर्ने उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, ‘मेरो बुझाइमा यहाँको पढाइको गुणस्तर र विदेशको पनि उस्तै हो । तर, यहाँ भने अलि हामीले आफैँले मेहनत गर्नुपर्छ ।’
उहाँ अवसरको कमी भए पनि आफू भने अब लोकसेवा तयारीका लागि लाग्ने विचार छ । सकेसम्म उहाँलाई स्वदेशमै काम गर्ने विचार छ । यदि सरकारले अवसर विस्तार गर्ने हो भने विदेश जाने सोच अरुमा पनि नहुने भन्ने उहाँको भनाइ छ ।
विदेश जानुपरे अब विद्यावारिधिका लागि मात्रै जाने उहाँको विचार छ । उहाँ भन्नुहुन्छ, ‘मेरो विचार चाहिँ सकेसम्म यतै काम गर्ने छ । त्यसका लागि कोसिस गर्ने हो । तर, अब विद्यावारिधि भने विदेशको डिग्री राम्रो हुने कारणले मात्र जाने विचार छ ।’ विद्यार्थी दीक्षित गराएर मात्रै विश्वविद्यालयको दायित्व पूरा नहुने पनि उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘विश्वविद्यालयले दीक्षित बनाउने काम त गर्यो तर बजारमा कसरी बिक्ने भन्ने ढङ्गको शिक्षा दिनुपर्छ । त्यसो भयो भने विदेश जाने विद्यार्थी पनि रोकिन्छ ।’