
काठमाडौं । हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ । लगातार दोस्रो जितसँगै हङकङले समूह बी बाट समूह विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बनाएको छ ।
जितको लागि २ सय ६४ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनाउँदा खेल रोकिएको थियो । तर हाबाहुरीको कारण खेल रोकिएपछि पुन हुन सकेको थिएन । त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा युएई पराजित भएको थियो ।
युएएईका आयन लाक्रा ७१ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे । रमिज शाहजद ४४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ८, वृत्य अरविन्द ७, आसिफ खान १, रोहन मुस्तफा ४ र आयन खान अफ्जल शून्यमा आउट भए ।
हङकङका एहसान खानले ५ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । आयुश शुक्ला, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले समान एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको निर्धारित हङकङले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । हङकङको जितमा ओपनर अंशुमन रथले १ सय १७ बलमा ११ चौकासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
ओपनर निजाकत खान २२, किन्चित शर्मा ३५, अजिज खान २७ र एहसान खानले २३ रन बनाए । युएईका स्पिनर आयन खान अफ्जलले १० ओभरमा २ मेडनसहित ५० रन खर्चेर सर्वाधिक ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । सन्चित शर्माले दुई र जुनैद सिद्धिककले एक विकेट लिए ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । हङकङले सोमबार बहराइन र विहीबार कुवेतसँग खेल्नेछ । दुई मध्य एक खेल जितेमा हङकङले सेमिफाइनलमा स्थान बनाउनेछ ।
उता युएईले पहिलो खेलमा कुवतेलाई ४० रनले हराएको थियो । युएईले आइतबार सिंगापुर र बुधबार बहराइनसँग खेल्नेछ । युएईलाई सेमिफाइनल खेल्न दुबै खेल जित्नुपर्ने दबाब छ । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।