यूएई जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीकाे भेट, काेप–२८ मा नेपालले लाभ लिने परिस्थिति सृजना गर्न पाैडेलकाे सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिष्टाचार भेट गर्नुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई जानुअघि आज बुधवार राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच भेट भएको हो ।
भेटमा राष्ट्रपतिले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।