नेपाली भाषा पाठशाला  कोलोराडोको आय-व्यय सार्वजनिक ।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरिका।नेपाली भाषा पाठशाला कोलोराडोले आफ्नो आय-व्यय विवरण सार्वजनिक गरिएको छ । कोलोराडो राज्यका दुई सहरहरू नर्थग्लेन र अरोरामा सञ्चालन गरिएका ग्रीष्मकालीन नेपाली भाषा कक्षाहरूका लागि कुल ६ हजार ९ सय ४१ डलर खर्च भएको जनाकारी गराइएको हो  ।

पाठशालाले विद्यार्थी भर्ना शुल्क, शुभचिन्तकहरूबाट प्राप्त सहयोग रकम र कोलोराडोका नेपाली संस्थाहरू नेपाली घर, दिदीबहिनी समूह कोलोराडो तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल बाट क्रमश पाँच पाँच सय गरी कुल अमेरिकी डलर ४ हजार ७ सय ९८ सङ्कलन गरेको थियो ।

त्यसैगरी पाठशालाको सहयोगार्थ नेपाली घरको सहयोगमा खोलिएको गो फन्ड मीमा हालसम्म ३ हजार१ सय ४६ डलर जम्मा भएको छ । जुन रकम करकट्टी गरेर अनेसास कोलोराडो खातामा जम्मा गरिने अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले बताएका छन् ।

यसैगरी अगामी वर्ष अहिले चालू भइरहेको बाहेक अन्य एक स्थानमा कक्षा थप गरी तीन स्थानमा पाठशाला सञ्चालन गर्ने योजना रहेको उनले खुलाएका छन् । यसका लागि नेपालबाटै पाठ्यसामाग्री तयार गरेर ल्याउन पहल भइरहेको अध्यक्ष सिटौलाले बताएका छन् ।

अगामी वर्ष पाठशाला सञ्चालनलाई अनुमानित १० हजार डलर लाग्न सक्ने त्यसको लागि सहयोग रकम सङ्कलन गर्न यही नोभेम्बर ११ तारिखमा नेपालका चर्चित सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीको संयूक्त प्रस्तुति रहने गरी एक साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको जानाकारी दिएका छन् ।