कोलोराडोमा सामुहिक तीज पुजा सम्पन्न ।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।हिन्दु नारीहरुको महान चाड तीजको पावन अवसरमा कोलोराडो निवासी महिला दिदी बहिनीहरु एकै ठाउमा भेला भई सामुहिक तीज पुजा लगाएका छन्

यहां सकृय सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोको आयोजनामा महिला दिदी बहिनीहरु नेपाली सांस्कृती केन्द्र भवनमा जम्मा भई बिधी पुर्वक शिव पार्वतीको आरधना गर्दै तीज पुजा सम्पन्न गरेका हुन् ।

तीजको पुजा लगाउन चाहने दिदी बहिनीहरुलाइ सरल र सहज रुपमा पुजामा सहभागी गराउन सकियोस र नेपाली सांस्कृतीक केन्द्र भवन हामी सबैको साझा सम्पत्ती हो भन्ने भावनाको बिकास गर्न सकियोस् भन्ने उद्धेश्यले सांस्कृतीक केन्द्र भवनमा पहिलो सामुहिक तीज पुजाको आयोजना गरिएको  सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका अध्यक्ष धन पौडेले बताएकी छिन् ।

बिहान १० बजे देखी दिउसो ३ बजे सम्म संचालित पुजा पंण्डीत चिरन्जीवी पौडेलले हिन्दु धर्म संस्कृती अनुसार संचालन गरेका थिए । तीज पुजा सफलताका साथ सम्पन्न गराउन नेपाली घर, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपाल लगायतका संघ संस्थाका पदाधिकारीहरु भोलेन्टियरका रुपमा कार्यक्रम स्थलमा खटेका थिए ।

कार्यक्रममा उपस्थित दिदी बहिनीहरुलाई धन पौडेलले स्वागत गरेकी थिईन । त्यसैगरी नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाले यो नेपाली सांस्कृतिक केन्द्र तपाई हामी सबैको साझा सम्पत्ती भन्दै कार्यक्रममा उपस्थित भई पुजा सम्पन्न गरेकोमा सबै दिदी बहिनीहरुलाइ धन्यवाद दिएका थिए ।

उनले यस केन्द्रलाई पुर्ण रुपमा संचालनमा ल्याई निरन्तरता दिन सबैको सहयोग आवश्यक भएकोले उपस्थित सबै दिदी बहिनीहरुलाइ यथासक्य सहयोग गरी यस महाअभियानमा जोडिन अनुरोध गरेका थिए । यसैगरी हिन्दु सनातन मंन्दिर ब्राइटन लगायत कोलोराडोका बिभिन्न शिव मंन्दिरहरुमा पनि आरध्य देव शिवको आरधना सहीत नाचगान भजन कृतन गदै तीज पुजा सम्पन्न गरिएको थियो ।