फिफा वेस्ट अवार्डका लागि मेस्सी, एम्बाप्पे र हालान्ड अन्तिम सूचीमा

फिफा वेस्ट अवार्डका लागि पुरुषतर्फ लियोनल मेस्सी, केलियन एम्बाप्पे र एर्लिङ हालान्ड अन्तिम सूचीमा परेका छन् ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पुरुष वर्ष खेलाडीको अवार्डका लागि अन्तिम नामावली सार्वजनिक गरेको हो । फिफाले हरेक वर्ष द वेस्ट फिफा अवार्डका रूपमा विभिन्न विधामा खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्दै आएको छ । प्रारम्भिकरूपमा १२ जना खेलाडीलाई यो विधामा मनोनयन गरिएको थियो । राष्ट्रिय पुरुष टिमका प्रशिक्षक, कप्तान, फुटबल पत्रकार र समर्थकको भोटिङका आधारमा अन्तिम तीन जनाको नाम छनोट गरिएको हो ।

अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनल जिताएका मेस्सी, फाइनल खेलेका फ्रान्सका एम्बाप्पे र इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई तीन मुख्य उपाधि जिताएका हालान्ड वर्ष खेलाडीको अन्तिम तीन जनाको सूचीमा परेका हुन् ।

यस्तै महिलातर्फ स्पेनकी विश्व विजेताद्वय आइताना बोनमाटी र जेनिफर होर्मवसोसहित कोलम्बियाका लिन्डा काइसेडो अन्तिम सूचीमा परेका छन् ।