देउसामा तीन वटा तालिम समापन, एउटा उद्घाटन।


सोलुखुम्बू।सोलुखुम्बू जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा एकै दिन तीन वटा तालिम समापन र एकवटा तालिमको उद्घाटन गरिएको छ । वडा कार्यालयको आयोजनामा सञ्चालित ९० दिनको सिकर्मी, ८०÷८० घण्टे सरफ र बेकरी तालिमको बुधबार समापन गरिएको हो भने सात दिने उद्यमशिलता तालिमको उद्घाटन गरिएको हो ।

वडा अध्यक्ष भोजराज कार्कीका अनुसार उक्त तालिमको लागि व्यवसायीक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाको आर्थिक सहयोग र गौरी भक्त होटल म्यानेजमेण्ट एण्ड प्राविधिक तालिम प्रा.लि. विराटनगरको प्राविधिक सहयोग रहेको छ । बेकरी तालिममा २४ जना, सरफ तालिममा २० जना सिकर्मी तालिममा १७ जना गरि जम्मा ६१ को सहभागिता रहेको थियो ।  
सरफ तालिममा सहभागी रिद्धि बहादुर के.सी.ले सोच्दै नसोचेको तालिम सञ्चालन भएको र सधै खरिद गरेर ल्याउने सरफ आफैले उत्पादन गर्न सक्ने भएको भन्दै स्थानीय सरकारलाई धन्यवाद दिनुभयो । अब तालिममा सिकेको सीपलाई व्यवहारमा प्रयोग गरि उद्यम गर्ने योजना रहेको भन्दै उहाँले थप सहयोग पाउँनेमा आफुहरु विश्वस्त रहेको बताउँनुभयो ।  

यस्तै बेकरी तालिममा सहभागी बुद्धिराम नेपालीले वडाले आफ्नो नागरिकलाई सीप सिकाएर दक्ष बनाइ आत्मानिर्भर बनाउने नीति लिएको प्रति प्रशंसा गर्दै वडाको योजनामा सबैले साथ दिएमा सम्बृद्ध वडा निर्माण हुने बताउँनुभयो ।  
यस्तै गौरीभक्त होटल म्यानेजमेण्ट एण्ड प्राविधिक तालिम प्रा.लि. विराटगरका कार्यक्रम संयोजक केदार दाहालले अन्य क्षेत्रमा सञ्चालन हुने तालिम र देउसामा सञ्चालन भएको तालिममा निकै फरक पाएको बताउँनुभयो ।  

व्यवसायीक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाका सूचना अधिकारी भबिन्द्र खत्रीले वडा नम्बर ७ को समन्वय र यहाँ भइरहेको कार्यको प्रशंसा गर्नुभयो । देउसाका नागरिकले धेरैवटा सीपमुलक तालिम प्राप्त गर्न सफल भएको भन्दै उहाँले अन्य क्षेत्रका वडा सरकारले देउसाबाट सिक्नुपर्ने बताउँनुभयो ।  
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले गत वर्ष सञ्चालन गरेको तालिमको प्रभावकारीताले थप कार्यक्रम सञ्चालन गर्न प्रेरीत गरेको बताउँनुभयो । यस वर्ष उद्यमशिलता तालिम सञ्चालन गरेको भन्दै उहाँले आगामी दिनमा वडाको माग अनुसार कार्यक्रम सञ्चालन गर्न आफुहरु तयार रहेको बताउँनुभयो ।    

यस्तै वडा अध्यक्ष भोजराज कार्कीले वडाका नागरिकलाई आत्मानिर्भर बनाउनको लागि सीप संगै व्यवसायमा जोड्ने काम गरिरहेको बताउँनुभयो । सम्बृद्ध वडा निर्माणको लागि सबैभन्दा पहिला नागरिकको साथ आवश्यक पर्ने भन्दै वडा अध्यक्ष कार्कीले नेतृत्वले योजना निर्माण र व्यवस्थापनको काम गर्ने भएपनि सफल कार्यान्वयनको पुर्ण जिम्मेवारी नागरिकको हुने बताउँनुभयो । वडा नम्बर ७ का नागरिकले अहिले सम्म साथ दिइरहेको भन्दै अध्यक्ष कार्कीले आगामी दिनमा पनि पुर्ण साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।  
यस्तै ७ दिनको उद्यमशिलता तालिमको आजै उद्घाटन गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । जसको लागि घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले सहयोग गरेको छ ।

तालिममा ३० जनाको सहभागीता रहेको छ ।  
कार्यक्रमको अबसरमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ भने वडाले प्रशिक्षक र सहयोगी कार्यालयलाई प्रशंसा पत्र प्रदान गरेको छ । कार्यक्रममा वडा भित्रका करिब २ सय जनाको उपस्थिति रहेको थियो ।