जिल्ला अधिवेशनमा हस्तक्षेप भएको भन्दै ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षद्वारा पार्टी परित्याग

ओखलढुंगा । दशौं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरुको हस्तक्षेप र दबाब सहन नसकेपछि निवर्तमान जिल्ला अध्यक्ष शंकर कट्वालले पार्टी परित्याग गरेका छन् । जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई पत्र लेख्दै पार्टी त्यागेको जनाएका हुन् ।

उनले लेखेको पत्र बिहीबार बिहान सामाजिक सञ्जालमा राखेर पार्टीको सदस्यता समेत त्यागेको उल्लेख गरेका छन् । तर यो पत्र उनले २७ गते बेलुका नै जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई बुझाएका थिए । एमाले जिल्ला अधिवेशन नयाँ नेतृत्वय चयनसँगै २८ गते सम्पन्न भएको छ ।

३४ वर्ष एमालेको राजनीति गरेर दुई वर्ष पहिले जिल्ला अध्यक्ष भएका कट्वालले बन्द सत्र शुरु भएपछि पार्टी त्याग गरेको पत्र लेख्नु सामान्य घटना होइन । उद्घाटन समारोहपछि अध्यक्ष कट्वाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी भएनन् ।

दशौं जिल्ला अधिवेशनको निर्वाचन प्रकृया शुरु हुने समयमा आएर उनले पार्टी नै त्याग गर्नु एमालेका लागि ठूलो दुर्घटना भएको नेताहरुले बताएका छन् । यसले पुर्‍याउने दिर्घकालीन क्षति आंकलन गर्न नसकिने भन्दै एमाले नेता कार्यकर्ताहरु निराश भएका छन् ।

बिहीबार विहान सामाजिक सञ्जल फेसबुकमा स्टाटस लेख्दै कट्वालले पार्टी सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टी त्यागको पुष्टि गरे । पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय कट्वाल यस अघिको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए । उनले नेपाल प्रेससँग टेलिफोनमा आफुले निकै कठोर निर्णय लिएको बताए । निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै उनले बिहीबार बिहान २७ गतेको पत्र सार्वजनिक गरे ।